सर्लाही – आगामी तीन दिन देशका धेरै साना तथा ठूला नदीमा पानीको बहाव तीव्र हुने अनुमान गर्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार कात्तिक १३ गतेदेखि ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही र कपिलवस्तुमा आकस्मिक बाढीको सम्भावना देखिएको छ। यी जिल्लाबाट बग्ने नदीमा पानीको बहाव मध्यमदेखि उच्च तहमा पुग्ने चेतावनी दिइएको छ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, “कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश नदीहरूमा कात्तिक १३ देखि १५ गतेसम्म पानीको मात्रा बढ्ने र कतिपय स्थानमा सतर्कता तह नाघ्न सक्ने सम्भावना छ। त्यसैले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दाहरूले विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ।”
हालको मौसम प्रणालीमा अरबसागरको न्यूनचाप, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभाव देखिएको मौसमविद्हरूले जनाएका छन्। उनीहरूको अनुसार, शनिबार बिहानसम्म ‘मोन्था’को प्रभाव जारी रहने र अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ। त्यसपछि नदीहरूको बहाव पनि बिस्तारै सामान्य स्तरमा फर्किने अपेक्षा गरिएको छ।





