भाषण गर्दा गर्दै ढलेका एमाले निकट जिफन्टका उपाध्यक्ष गौतमको निधन

२०८२ कार्तिक १३, बिहीबार १४:३३

सर्लाही – नेपाल विद्युत् प्राधिकरणद्वारा १३ उद्योगमा गरिएको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दै गरेका नेकपा एमाले निकट रास्ट्रिय नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको बिहीबार (कात्तिक १३) आकस्मिक निधन भएको छ।

धर्ना क्रममा अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुग्दा नै उनलाई ज्यान गएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले पुष्टि गरेका छन्।

बुधबार (कात्तिक १२) भएको बैठकमा गौतमले संस्थागत रुपमा आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए। धर्ना कार्यक्रममा उनले केही आक्रोशित मुद्रामा सरकार र विद्युत् प्राधिकरणको गैरजिम्मेवारीपनको विरोध गर्दै उद्योगी र श्रमिकलाई एकजुट भएर आवाज उठाउन आह्वान गरेका थिए।

उनले उद्योगीहरूले नियमित मासिक महसुल तिर्दै आएको तर अचानक चार वर्षको बिल थमाएको घटनाले उनीहरूलाई पीडित बनाएको बताए। “आमजनमानसमा उद्योगीहरूले ठगेको भ्रम फैलाइएको छ, तर सत्य यो हो कि ठगी उद्योगीले गरेको छैन,” उनले भने। “यो असुविधा सरकार र प्राधिकरणको गैरजिम्मेवारीको कारण हो।”

धर्नामा श्रमिकहरूको भलो चाहेर बोलिरहेका गौतमको बोली अचानक लरबरियो र उनी ढले। तत्कालै उपचारका लागि अस्पताल पुर्‍याए पनि उनलाई ज्यान जोगाउन सकिएको थिएन। उनको आकस्मिक निधनले मजदुर र उद्योगी क्षेत्रमा शोक छाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार