आज मधेशसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ कार्तिक १४, शुक्रबार ०७:१९

सर्लाही – बङ्गालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशका अधिकांश भागमा वर्षा र बदली यथावत रहे पनि बेलुकीतिर क्रमशः सुधार आउने संकेत देखिएको छ ।

महाशाखाले दिएको विवरण अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज दिनभर पूर्ण बदली रहनेछ । ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, मधेस, बागमती र लुम्बिनीका केही ठाउँमा भने भारी वर्षा हुन सक्ने चेतावनी जारी गरिएको छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले भारी वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सर्वसाधारण, किसान र यात्रीहरूलाई सतर्क रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार