मलंगवा – सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिंजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ।

आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासीन रहेको आरोप लगाएका छन्। उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड गरेका थिए।
आक्रमण रोक्ने क्रममा वडा नं. ६ का वडाध्यक्ष सामसोगारथ राय यादव सामान्य घाइते भएका छन्। उनको नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोली पुगेपछि थप घटना हुन पाएन। प्रहरीले अवस्था नियन्त्रणमा लिएको बताईएको छ।
तर नगरप्रमुख विनोद कुमार साह कानुले भने ती आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा धेरै कागजात र उपकरण जलेका कारण अहिले लालबन्दीमा बसेर वैकल्पिक रूपमा काम गर्नुपर्ने बाध्यता रहेको हो।
“हामी कागजात र सेवा प्रवाहको वैकल्पिक व्यवस्था गर्दै थियौँ, तर केही व्यक्तिहरू अराजक शैलीमा हुलहुज्जत गर्न आएका थिए,” मेयर साहले भने। उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड गर्नेहरूकै संलग्नतामा बिहीबारको घटना भएको हो।





