सर्लाही – छठ पर्व सकिएसँगै तराई मधेशमा अहिले सामाचकेवाको रमाइलो रौनक छाएको छ । सर्लाहीलगायत तराई मधेशका जिल्लामा दिदीबहिनी र दाजुभाइबीचको स्नेह, आस्था र आपसी प्रेमको प्रतीकका रूपमा यो पर्व धुमधामका साथ मनाउन थालिएको हो ।
कार्तिक शुक्ल द्वितीयादेखि पूर्णिमासम्म चल्ने यो पर्वमा दिदीबहिनीहरूले माटोको सामा, चकेवा, सतभैया, चुगला लगायतका कलात्मक मूर्तिहरू तयार पार्छन् । यी मूर्तिहरू दाजुभाइको दीर्घायु, पारिवारिक एकता र प्रेमका प्रतीक हुन् ।

पहिले गाउँगाउँमा सामूहिक रूपमा माटो जम्मा गरेर महिलाहरूले हातैले मूर्ति बनाउँथे, गीत गाउँथे र रातभर सामाचकेवाको उत्सव मनाउँथे । पूर्णिमाको रातमा यी मूर्तिहरूलाई खेतको छेउमा लिएर विशेष पूजा गरी, दीप बालेर र पारम्परिक गीत गाएर पर्व सम्पन्न गरिन्थ्यो । अहिले भने शहरकेन्द्रित जीवनशैलीका कारण यो परम्परा विस्तारै हराउँदै गएको स्थानीयहरू बताउँछन् ।
धार्मिक ग्रन्थ भविष्य पुराण अनुसार, सामाचकेवा पर्वको उत्पत्तिसँग भगवान कृष्ण, तिनकी पुत्री सामा र पुत्र साम्बको कथा जोडिएको छ । झुटो आरोपका कारण सामा र ऋषिहरूलाई पक्षी बन्ने श्राप दिएपछि साम्बले घोर तपस्या गरी दिदीलाई उद्धार गरे । त्यसैबेलादेखि भाइले दिदीको रक्षाका निम्ति गरिएको श्रद्धा र माटोको सामा बनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
छठको खरना सम्पन्न भएसँगै महिलाहरूले माटोको मूर्ति बनाउन थाल्छन्—पहिलो दिन सामा, दोस्रो दिन चकेवा, त्यसपछि सतभैयाँ, चुगला, खररुची भैया लगायतका पात्रहरू तयार गरिन्छन् । यी सबै मूर्तिहरूलाई विभिन्न रङले सजाइन्छ र ढक्की वा डाला भित्र राखिन्छ ।
सामाचकेवाको रातमा महिलाहरू गाउँका आँगन वा चौरमा भेला भएर दीप बाल्छन्, गीत गाउँछन् र प्रतीकात्मक संवाद प्रस्तुत गर्छन् । गीतमार्फत दाजुभाइको प्रशंसा, चुगलाको आलोचना र भ्रातृस्नेहको उदात्तता झल्काइन्छ ।
अन्तिम दिन पूर्णिमाको रातमा सबै मूर्तिहरूलाई खेतमा लगी विशेष पूजा गरी “सामा चकेवा”लाई शीत र दुबो खुवाउने चलन छ । त्यसपछि जुटको प्रतीक ‘चुगलाको जुँगा’ जलाइन्छ, जसले असत्य र ईर्ष्या प्रवृत्तिलाई नष्ट गर्ने सन्देश दिन्छ ।
मिथिला क्षेत्रको सांस्कृतिक पहिचान बनेको यो पर्वले पारिवारिक सम्बन्ध, नारी सृजनशीलता र सामाजिक एकताको सन्देश दिन्छ । सामाचकेवाका गीतहरूमा भाइबहिनीको अटूट प्रेम, घर परिवारको सौहार्द र लोकविश्वासको गहिरो आत्मीयता झल्किन्छ, जसले मधेशको लोकसंस्कृतिलाई अझ जीवन्त बनाइरहेको छ ।





