सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु

२०८२ कार्तिक १६, आईतवार ०७:४९
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा फैलिएको झाडापखालाले एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरूको एक हप्ताभित्रैको फरक फरक समयमा निधन भएको हो।

स्थानीयका अनुसार मृतकहरूमा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो । तर समयमै उपचार नपाउँदा उनीहरूको ज्यान गएको हो । गाउँमै औषधि र स्वास्थ्यकर्मी नपाउँदा स्थिति भयावह बनेको बताईएको छ।

हाल सो टोलमा झाडापखालाका लक्षण देखिने बिरामीहरूको संख्या १५ नाघिसकेको स्थानीयले बताएका छन् । बिरामी हुनेहरुमा ५ वर्षीया राधिका सदा, १० वर्षीया करिना सदा, २५ वर्षीया लिलमदेवी सदा, तीन वर्षीया गायत्रीकुमारी, ६ वर्षीया सुगन्धाकुमारी र ६० वर्षीय बौकु सदा रहेका छन् ।

स्थानीयका अनुआर रोग फैलिँदै गए पनि स्वास्थ्य निकाय र स्थानीय सरकार प्रारम्भमा निष्क्रिय देखिएका थिए । “हामीले स्वास्थ्य टोली आउँछ कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,” स्थानीय शिवशंकर सदाले भने।

वडाध्यक्ष जयप्रकाश ठाकुरले भने स्थिति नियन्त्रणका लागि पहल सुरु गरिएको जानकारी दिनुभयो । “स्वास्थ्यकर्मीहरूलाई औषधि र उपचारका लागि खटाइएको छ । रोग फैलिन नदिन गाउँमा सचेतना र सरसफाइ अभियान सुरु भएको छ,” उहाँले बताउनुभयो ।

स्वच्छ खानेपानीको अभाव र फोहोर बर्खे पानीका कारण रोग फैलिएको हुन सक्ने जनस्वास्थ्य विज्ञहरूको अनुमान छ । उनीहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रमा तुरुन्त सरसफाइ तथा क्लोरिन अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार