सर्लाही – देशका आठ वामपन्थी दलहरूबीच पार्टी एकीकरणका लागि ऐतिहासिक सहमति भएको छ। पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवाद स्थापनाको दिशामा अघि बढ्ने उद्देश्यसहित नयाँ संयुक्त पार्टी गठन गर्ने निर्णय गरिएको हो।
सहमति अनुसार १९ कात्तिकमा ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गरिनेछ। सो सम्मेलनले पार्टी एकताको औपचारिक घोषणा गर्दै घोषणापत्र, अन्तरिम विधान पारित गर्ने र केन्द्रीय समिति गठन गर्नेछ।

नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहनेछ भने यसको चुनाव चिन्ह पाँचकुने तारा तोकिएको छ। पार्टी संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहने उल्लेख छ। साथै, प्रत्येक तहमा संयोजक र सह–संयोजकको व्यवस्था गरिनेछ।
सहमति पत्रअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ र नेपाली विशेषतासहितको वैज्ञानिक समाजवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा लिइनेछ। तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने नीति तय गरिएको छ।
आन्दोलनको स्वरूप मुख्यतः शान्तिपूर्ण रहने सहमति गरिएको छ। आवश्यकताअनुसार सडक, सदन र सरकार सबैलाई आन्दोलनका मोर्चा बनाइने उल्लेख छ। साथै, राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज तयार गर्न छुट्टै कार्यदल गठन गर्ने, संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल बनाउने र आगामी छ महिनाभित्र ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने तयारी पनि गरिएको छ।
यो ऐतिहासिक सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, जनसमाजवादी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी–समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी, र नेकपा (साम्यवादी)का अध्यक्ष चिरञ्जी पुन ले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
यी शीर्ष नेताहरूको सहमति अनुसार वाम आन्दोलनलाई एकीकृत गर्दै राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ स्थापना हुन लागिरहेको छ। विश्लेषकहरूका अनुसार, यो कदमले विगतका विभाजन र विवादमा छरिएका वाम शक्ति फेरि एउटै मोर्चामा आउने संकेत दिएको छ।





