सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले प्रदेशभित्रका उद्योगहरूलाई पुनः सञ्चालन गर्न विद्युत् लाइन तत्काल जडान गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मुख्यमन्त्री सोनारले उद्योगहरूको विद्युत् लाइन काटिँदा हजारौँ युवाहरू रोजगारी विहीन हुने अवस्था आएको भन्दै समस्या समाधानमा केन्द्र सरकारको चासो आवश्यक रहेको बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने “डेडिकेटेड लाइनका नाममा उद्योगहरूको लाइन काटिँदा उत्पादन रोकिएको छ र त्यसले हजारौँ युवाको रोजगार गुम्ने जोखिम बढेको छ । त्यसैले तत्काल समाधानका लागि प्रधानमन्त्रीसमक्ष कुरा राखिएको हो ।”
मुख्यमन्त्री सोनारले सङ्घीय सरकारबाट प्रदेश सरकारहरूलाई दिइने अनुदानमा कटौती गरिएको भ्रम फैलिएको विषयमा पनि छलफल भएको बताए । उनले भने “अर्थमन्त्रीज्यूले कुनै पनि अनुदान कटौती नभएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न सघाउने प्रतिबद्धता जनाउनुभयो ।”
मुख्यमन्त्री सोनारले संघीय र प्रादेशिक समन्वयका माध्यमबाट उद्योगका समस्या समाधान गरी युवाहरूका रोजगार सुरक्षित गर्न केन्द्र सरकारसँग आग्रह पनि गरेका छन् ।





