सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डामा अंकित ‘पाँच कुने तारा’ प्रतीकलाई कुनै पनि दलले चुनाव चिन्हका रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ। पार्टीले यो विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै निर्वाचन आयोगलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ का प्रावधानहरू उद्धृत गर्दै आफ्नो झण्डाको प्रतीक अरू दलले प्रयोग गर्नु कानुनविपरीत हुने उल्लेख गरेका छन्।

‘राजनीतिक दल सम्बन्धी ऐनका दफा ६ (१)(ङ), ९ र १४ (७)(क) को उल्लङ्घन गर्दै जसपा नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य दलले चुनाव चिन्हका रूपमा दाबी गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीले थप उल्लेख गरेको छ, ‘यो प्रतीक हाम्रो पहिचान हो, त्यसैले यसलाई कुनै पनि दलले निर्वाचन चिन्ह वा अन्य कुनै रूपमा प्रयोग नगर्नुहोस्।’ उक्त विज्ञप्ति नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वाम दलबीच एकता भएपछि नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने र चुनाव चिन्ह ‘तारा’ तय गर्ने निर्णयसँगै आएको हो।
जसपा नेपालले सो निर्णयलाई आफ्नो पहिचानमाथिको अतिक्रमण भन्दै विरोध जनाएको हो।





