रौतहटमा बालबालिकालाई दिन तयार पारिएको खोप म्याद नाघेको भेटियो

२०८२ कार्तिक १८, मंगलवार १८:४६

सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका – ९ स्थित डुमरिया स्वास्थ्य केन्द्रमा बालबालिकाका लागि तयारी गरिएको जापनिज इन्सेफ्लाइटिस (JE) खोप म्याद नाघेको अवस्थामा भेटिएको छ।

कार्तिक १७, १८ र १९ गते १२ देखि २३ महिनासम्मका बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला म्याद गुज्रिएको खोप प्रयोगमा ल्याउन खोजिएको खुलेको हो।

चन्द्रपुर अस्पतालबाट ल्याइएको उक्त भ्याक्सीनको म्याद २०२५ नोभेम्बर १ मा समाप्त भइसकेको पाइएको छ। म्याद सकिएको चार दिनपछि खोप दिन तयारी गरिएको जानकारी प्राप्त भएपछि तत्काल कार्यक्रम रोकिएको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले पुष्टि गरेका छन्।

उनका अनुसार अस्पतालमा म्याद नाघेको खोप पठाइनु कर्मचारी तहको गल्ती हो। “यो गम्भीर लापरवाही हो, छानबिन हुनेछ,” ठाकुरले भने। “अस्पतालमा म्यादभित्रका खोप उपलब्ध हुँदा पनि सकिएको ल्याइनु त्रुटिपूर्ण निर्णय हो,” उनले थपे।

घटनाबारे चन्द्रपुर नगरपालिका–९ का वडाअध्यक्ष नवराज देवकोटाले पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। “बालबालिकाको स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसमा कसैलाई उन्मुक्ति दिइने छैन,” उनले भने, “कार्यपालिकाको बैठक बसी दोषीमाथि आवश्यक कारबाही गरिनेछ।”

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णका अनुसार हालै प्रदेश स्वास्थ्य आपूर्ति कार्यालयबाट पठाइएका जापनिज इन्सेफ्लाइटिस खोपहरूको म्याद २०२६ अप्रिलसम्मका हुन्। तर चन्द्रपुरमा भेटिएको म्याद नाघेको भ्याक्सीन गम्भीर लापरवाहीको संकेत भएको उनले बताए।

नगर प्रमुख सन्जय काफ्लेले पनि विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे विस्तृत छानबिन गरी जिम्मेवार पक्षमाथि आवश्यक कार्यवाही हुने बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार