पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको भेट, निष्पक्ष चुनावका तयारीबारे छलफल

२०८२ कार्तिक १८, मंगलवार २०:२२

सर्लाही – गृहमन्त्री ओमप्रकाश अर्यालले आज नेपालका प्रथम राष्ट्रपति रामवरण यादवसँग ललितपुरको बागडोलस्थित निवासमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन अनुसार आगामी निर्वाचनको वातावरण निर्माणका सिलसिलामा भइरहेको संवाद प्रक्रिया अन्तर्गत उक्त भेट भएको हो।

गृहमन्त्री अर्यालले भेटका क्रममा पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्था बुझ्दै भदौ २३ र २४ गतेका घटनाले पारेको प्रभावबारे जानकारी लिएका थिए। सो अवसरमा दुवै बीच केही समय राजनीतिक विषयमा पनि गम्भीर कुराकानी भएको स्रोतले बताएको छ।

वार्ताका क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेश अनुसार सरकारी सेवामा पारदर्शिता र कार्यक्षमता बढाउने प्रयाससँगै निर्वाचनको तयारीका लागि सरकार सक्रिय रूपमा लागेको जानकारी गराए।

पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने दिशामा भइरहेको सरकारी प्रयासको प्रशंसा गर्दै तटस्थ सरकारप्रति विश्वास प्रकट गरे।

उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले पनि चुनौतीपूर्ण परिस्थितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको स्मरण गराउँदै, अहिले पनि त्यस्तै निष्पक्ष भूमिकाले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार