आज गुरु नानक जयन्ती मनाइँदै

२०८२ कार्तिक १९, बुधबार ०६:३६

सर्लाही – शिख सम्प्रदायका संस्थापक तथा महान् सन्त गुरु नानक देवको ५५६औँ जन्मजयन्ती आज देशभरका गुरुद्वाराहरूमा विशेष पूजा, भजनकीर्तन र सामुदायिक भोजनलगायतका कार्यक्रमसहित मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन मनाइने गुरु नानक जयन्ती यस वर्ष पनि श्रद्धा र उल्लासका साथ मनाइँदैछ। गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। उनले शिख धर्मका प्रमुख ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए।

गुरु नानकले जात, धर्म र वर्गबीचको विभेद अन्त्य गरी मानवता, समानता र सेवाभावमा आधारित समाज निर्माणको सन्देश दिएका थिए। उनले आपसी प्रेम र भ्रातृत्वको भावना फैलाउने उद्देश्यले सबैका लागि खुला र नि:शुल्क सामुदायिक भोजनको ‘लङ्गर परम्परा’ सुरु गरेका थिए, जसले सामाजिक सहिष्णुता र एकताको सन्देश दिन्छ।

आज बिहानैदेखि गुरुद्वाराहरूमा ‘अमृत भेला’ अर्थात् प्रभात फेरी गरी ‘असा दि भार’ भजन गाइदै गुरु नानकको उपदेशको स्मरण गरिएको छ। गुरुद्वाराका स्वयंसेवकहरूले यस अवसरमा सामूहिक भोजनको व्यवस्था पनि गरेका छन्, जहाँ जात, लिंग वा धर्मका आधारमा कुनै भेदभाव गरिँदैन।

गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन्’ भन्ने सिद्धान्तका पक्षपाती थिए। उनी निर्गुण उपासनाका प्रवर्तक मानिन्छन्। यसैगरी, गुरु जयन्तीका दुई दिनअघि नै ‘गुरु ग्रन्थ साहिब’ को अखण्डपाठ (४८ घण्टे अविरल वाचन) सुरु गरिन्छ, जसको आज विधिपूर्वक समापन गरिँदैछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार