आज आठ वामपन्थी दलबीच एकता, नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी

२०८२ कार्तिक १९, बुधबार ०६:४२

सर्लाही – नेपालका प्रमुख वामपन्थी शक्तिहरू आज एकै मञ्चमा उभिँदै छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वाम दलबीच पार्टी एकता औपचारिक रूपमा हुँदैछ।

एकता औपचारिक घोषणा गर्न आज दिउँसो १ बजे राजधानीको भृकुटीमण्डपमा ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार नयाँ एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिनेछ र यसको चुनाव चिह्न पाँचकुने तारा रहनेछ।

एकीकरणमा सहभागी दलहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी) लगायतका दलहरू छन्। यी दलबीच कात्तिक १६ गते नै एकता गर्ने सहमति भएको थियो।

सहमति पत्र अनुसार, हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने नीति पार्टीले अवलम्बन गर्नेछ। नयाँ दलको वैचारिक आधार मार्क्सवाद लेनिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यदिशा बनाइनेछ।

राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम र दस्तावेज तयार गर्न छुट्टै कार्यदल गठन गरिने उल्लेख छ। साथै, संगठनात्मक एकता तथा समायोजनका लागि विभिन्न तहमा समिति बनाइने र आगामी ६ महिनाभित्र ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार