सर्लाही – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताएका छन् ।
माओवादी केन्द्र, नेकपा (एस) सहितका कम्युनिष्ट दलहरूको एकता घोषणा सम्मेलनमा बोल्दै उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने आत्मविश्वास पैदा भएको बताए ।

उनले भने, ‘हामी एक ढिक्का भएर देशको अगाडि देखा परेका चुनौती र समस्याको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ । हामी नेपाललाई नयाँ ढंगले अगाडि बढाउन सक्छौं र एउटा नयाँ शक्ति निर्माण भयो भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं ।
आजको दिन नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुने छ । एकै साथ १० वटा कम्युनिष्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। दुईवटा, तीनवटा, मिल्ने त भयो होला ।’
प्रचण्डले आजको दिनलाई नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिका दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरे । – नेपाल न्युज बैंक





