मलंगवा – जनमत पार्टीभित्र आन्तरिक असन्तुष्टि उत्कर्षमा पुगेका बेला सर्लाहीका करिब ४० जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
राजीनामा दिने नेतामध्ये राष्ट्रिय परिषद् सदस्य ई. त्रिभुवन सिंह, प्रतिनिधि सभा सर्लाही – ४ का उम्मेदवार रामबाबु राय, प्रदेश सभा क्षेत्र ४(ख) का उम्मेदवार प्रमोद यादव, प्रदेश सभा क्षेत्र ३(ख) का उम्मेदवार सत्रुधन साह, पूर्व डीएसपी नरेश महतो, र गगनदेव साह प्रमुख रहेका छन्।
यी नेताहरूले पार्टीभित्र संगठनात्मक कमजोरी, निर्णय प्रक्रियामा नेतृत्वको एकल हस्तक्षेप, र स्थानीय कार्यकर्ताको आवाजलाई बेवास्ता गरिएको आरोप लगाउँदै राजीनामा दिएका हुन्।
राजीनामापछि उनीहरू नयाँ राजनीतिक विकल्पतर्फ उन्मुख भएको बुझिएको छ, तर कुन पार्टीमा जाने भन्ने विषयमा भने उनीहरूले अहिले केही खुलासा गरेका छैनन्।







