सर्लाही – भारतको बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही, महोत्तरी र रौतहटलगायतका नेपाल–भारत सीमा नाका आगामी तीन दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ।
शान्ति–सुरक्षाको व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रशासनले सीमा नाका ‘सिल’ गर्ने निर्णय गरेको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि लागू हुने यो प्रतिबन्ध कात्तिक २५ गते साँझ ६ बजेसम्म रहनेछ।

यस अवधिमा आकस्मिकबाहेकका सम्पूर्ण किसिमका आवागमन पूर्ण रूपमा रोकिने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त रूपमा सूचना जारी गर्दै सीमामा कडाइ गरिने बताएका छन्।
चुनाव अवधिमा अवाञ्छित गतिविधि रोकथामका लागि दुवै देशका सुरक्षाकर्मीहरू सशक्त रूपमा तैनाथ हुने तयारी गरिएको प्रशासनले जनाएको छ। नेपाल र भारतबीच चुनावका समयमा ७२ घण्टे सीमा बन्द गर्ने परम्परा पहिले देखिनै चलिआएको छ।
नेपालमा निर्वाचन हुँदा भारतीय पक्षले सहयोग गर्ने र भारतमा चुनाव हुँदा नेपाली सुरक्षाकर्मीले साथ दिने प्रचलन यसपालि पनि दोहोरिनेछ।





