सर्लाही – नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः५८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।
मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। उनको शव अन्त्येष्टिका लागि रौतहटस्थित जन्मथलो राजपुरतर्फ लगिएको सुरक्षास्रोतले जनाएको छ।

गत जेठमा नक्खु कारागारबाट रिहा भएका आलमलाई त्यसलगत्तै ब्रेन स्ट्रोक भएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा पनि उपचार गरिएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा बम विष्फोटमा घाइते भएकालाई जिउँदै इट्टाभट्टामा जलाएको अभियोगमा आलममाथि मुद्दा चलेको थियो।
रौतहट जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले सो फैसला उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो। हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।





