सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपालको संविधानको धारा १६८(४) अनुसार सोमबार बस्ने प्रदेशसभा बैठकमार्फत उनले विश्वासको मत लिने भएका छन्।
पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि असोज २९ गते पाँच दलको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरिएको थियो। सुरुमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले उनको सरकार बनाउँदा साथ दिएका थिए।
हाल भने सोनल सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन जनाएपछि उनको पक्षमा ५७ मत पुगेका छन्। मधेस प्रदेशसभामा हाल १०४ सदस्य रहेका छन्, जसअनुसार विश्वासको मतका लागि ५३ मत आवश्यक छ।
सोनलको पक्षमा जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीका १–१ जना सांसद रहेका छन्।
त्यस्तै, विपक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेका छन्। जनमत पार्टीका दुई सांसद ( निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह ) जनमत फुटेर बनेको जनस्वराज पार्टीतर्फ लागेकाले उनीहरूको समर्थन स्पष्ट छैन।
यसैबीच जसपा नेपालका प्रदेशसभा सदस्य सरोज सिंह कुशवहा निलम्बित भएकाले उनले मत दिन पाउने छैनन्। यी राजनीतिक समीकरणबीच सोनलको आजको विश्वासको मतले मधेसको सत्ता समीकरण कता मोड लिन्छ भन्ने कुरामा सबैको नजर केन्द्रित भएको छ।







