कोडैना – सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै सत्र लाख रुपैयाँ खर्च भएको खुलासा भएको छ। महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध खर्च शीर्षकमा अत्यधिक रकम खर्च गरी वित्तीय अनुशासन उल्लङ्घन गरेको पाईएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, महालेखा परीक्षकको प्रतिवेदनअनुसार कोडैना गाउँपालिकाले सो प्रावधान उल्लंघन गर्दै ‘विविध खर्च’ शीर्षकमा रु. १६ लाख ९६ हजार खर्च गरेको उल्लेख छ।
प्रतिवेदनका अनुसार गाउँपालिकाले पालिकातर्फ खाना, खाजामा रु. १० लाख, र वडा स्तरमा खाजा र खानामा रु. ६ लाख ९६ हजार खर्च गरेको छ। तर, सो रकम कहाँ, कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने पुष्टि गर्ने कुनै प्रमाण कागजात संलग्न नगरिएको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख छ।
महालेखा नियन्त्रक कार्यालयले जारी गरेको वर्गीकरण र व्याख्या २०७४ अनुसार ‘विविध खर्च’ शीर्षकमा केवल मनोरञ्जन, अतिथि सत्कार, सुरक्षा, प्रतिनिधिमण्डल स्वागत जस्ता सीमित खर्च मात्र गर्न सकिने व्यवस्था छ। तर, कोडैनामा सो प्रावधानको मर्म विपरीत अत्यधिक खर्च भएको देखिएको छ।







