सर्लाही – मधेस प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि राजनीतिक दौडधूप तीव्र बनेको छ। कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित छ दलका शीर्ष नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीसँग भेट गरी संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न औपचारिक माग गरेका छन्।
मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएर २४ घण्टा बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया नथालेपछि राजनीतिक हलचल अझ बढेको हो। सोनल नेतृत्वको समूहले कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्त पार्टीलाई साथमा लिएर बहुमतको सरकार बनाउन पहल अघि बढाएको छ।
कार्यवाहक मुख्यमन्त्री सोनल, कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, जसपाका प्रमुख सचेतक रामअशिष यादव, एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तकी उर्मिला देवी सिंहले संयुक्तरूपमा प्रदेश प्रमुख भण्डारीलाई भेट गरी सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका हुन्।
सोनलका अनुसार १०७ सदस्यीय प्रदेशसभामध्ये करिब ८५ सांसद उनीहरूको पक्षमा उभिएका छन्। यस्तो परिस्थितिमा प्रदेश प्रमुखले शीघ्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने उनीहरूको तर्क छ।







