सर्लाही – मधेश प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशमा राजनीतिक तरंग फैलिएको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले शनिबार राजीनामा दिएका थिए। सोही दिन उनले विश्वासको मत लिने तयारी गरेका थिए, तर आवश्यक समर्थन नपाउने सम्भावना देखिएपछि राजिनामा दिएका थिए।
सोनलले राजीनामा दिएपछि आइतबार रातिसम्म प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेको भन्दै कांग्रेस, जसपा, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीलगायत ६ दलले संविधानको धारा १६८(२) अनुसारको प्रक्रिया अघि बढाउन माग गरेका थिए।
तर, आइतबार संविधानविद् र कानुनविद्सँग सल्लाह गरेपछि प्रदेश प्रमुख भण्डारीले सोमबार बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिन्। राजनीतिक हलचल आइतबार दिउँसोदेखि नै तीव्र बनेको थियो। ६ दलले प्रदेश प्रमुखलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो कदम नचलाउन आग्रह गरेका थिए।
तर भण्डारी बिहान करिब ४ बजे स्वास्थ्य कारण देखाउँदै ‘काठमाडौं जाँदै छु’ भन्दै बाहिरिएकी थिइन्। त्यसको केही घण्टामै उनले महोत्तरी र सिन्धुलीको सीमामा पर्ने होटल पानसमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी थिइन्।
शपथ कार्यक्रममा संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राप्रपा नेपालकी एक सांसद मात्र उपस्थित रहेको बताइएको छ। मुख्यमन्त्री नियुक्तिपछि पूर्व मुख्यमन्त्री सोनलले कडा आपत्ति जनाएका छन्। उनका अनुसार यो कदमले लोकतन्त्र र संघीयता कमजोर पार्ने प्रयास भएको छ।
सोनलले भने, “प्रदेश प्रमुखले बिहान ४ बजे उपचारका लागि काठमाडौं जाँदै छु भन्नुभयो, मैले बिदाई पनि गरेँ। केही बेरमै खबर आयो, उहाँले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभयो। यो मधेशी जनतालाई दिइएको ठुलो धोका हो।”







