सर्लाही – मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा दोस्रो पनि रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार अर्जुन शाहले सोमबार सर्वोच्चमा रिट दायर गर्दै मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति र संवैधानिक प्रक्रिया असंवैधानिक भएको दाबी गरेका छन्।
शाहले संविधानको धारा १३३ अनुसार उत्प्रेषण आदेश जारी गरी उक्त नियुक्ति रद्द गर्न माग गरेका छन्। यस अघि रक्कीप्रसाद साह र सुजित यादवले पनि मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिसकेका थिए।
अब दुईवटा रिट सर्वोच्चमा दर्ता भइसकेका छन्, जसमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभा विपक्षी बनाइएका छन्। दुवै रिटमाथि सुनुवाइका लागि मंगलबार (कात्तिक २५ गते) मिति तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।







