सर्लाही – मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूले सहयोग नपाए प्रदेशसभा विघटन हुने बताएका छन् । उनले आफ्नो सरकार बाध्यतामा गठन भएको भन्दै सबै दलको समर्थन आवश्यक रहेको बताए।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको यो सरकार स्थायित्वका लागि सबै दलको सहयोग जरुरी भएको यादवको भनाइ छ। उनले भने, “यो सरकार परिस्थितिको बाध्यतामा बनेको हो, विश्वासको मत नआए प्रदेशसभा स्वतः विघटनको अवस्थामा पुग्नेछ। त्यसैले सबै दलले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्छ।”
यादवले हाल नेपाली कांग्रेस र जनमत पार्टीसँग छलफल चलिरहेको बताउँदै विश्वासको मत सुनिश्चित गर्नका लागि निरन्तर संवाद भइरहेको जानकारी दिए। उनका अनुसार राजनीतिक सहमति बिना प्रदेशको स्थायित्व सम्भव छैन। मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दायर भएका छन्।







