सर्लाही – भारतको राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक लालकिल्ला परिसर नजिक सोमबार साँझ करिब ७ बजे कार विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । घटनापछि दिल्ली–एनसीआर क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आई–२० मोडेलको गाडीमा भएको विस्फोट अत्यन्त शक्तिशाली थियो, जसका कारण वरिपरिका भवन र सवारीसाधनमा समेत क्षति पुगेको छ । प्रहरीले घटनास्थल घेराबन्दी गरी अनुसन्धान तीव्र पारेको छ ।

गुरुग्राम प्रहरीका अनुसार विस्फोट भएको एचआर–२६–सीई–७६७४ नम्बरको कार हरियाणाका सलमान नामक व्यक्तिको नाममा दर्ता गरिएको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ । प्रारम्भिक बयानमा उनले उक्त गाडी दिल्लीको ओखलामा देवेन्द्र नामका व्यक्तिलाई बिक्री गरेको बताएका छन् ।
त्यसपछि गाडी क्रमशः अम्बालामा अर्को व्यक्तिलाई र अन्ततः पुलवामाका तारिक नामक व्यक्तिलाई बिक्री गरिएको पाइएको छ । प्रहरीको विशेष टोली सीआईए मानेसरका प्रमुख ललितको नेतृत्वमा अनुसन्धान गरिरहेको छ भने दिल्ली प्रहरीको स्पेसल सेल पनि घटनास्थलमा खटिएको छ ।
यो विस्फोटले सन् २०१९ को पुलवामा आक्रमणको सम्झना ताजा गराएको छ, जब आतंककारीहरूले विस्फोटक पदार्थले भरिएको गाडी प्रयोग गरी ४० भारतीय सुरक्षा जवानको ज्यान लिएका थिए । सुरक्षा निकायहरूले घटनालाई अत्यन्त संवेदनशील मानेका छन् र सम्भावित आतंकवादी संलग्नताको कोणबाट पनि अनुसन्धान अघि बढाइएको बताइएको छ ।





