भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज

२०८२ कार्तिक २५, मंगलवार ०७:४६

सर्लाही – भारतको बिहार राज्यमा आज विधानसभा चुनावको दोस्रो चरणको मतदान भइरहेको छ। यस चरणअन्तर्गत १२२ सिटका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगका अनुसार राज्यभर ४५ हजार ३९९ मतदान केन्द्रमा मतदाताहरूले आफ्नो अधिकार प्रयोग गर्नेछन्। कुल १३०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा ११६५ जना पुरुष, १३६ जना महिला र एक तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।

यस चरणमा ३ करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ। तीमध्ये १ करोड ९५ लाख पुरुष र १ करोड ७४ लाख महिला मतदाता छन्। त्यस्तै ४ लाख ४ हजार अपाङ्ग, ६३ हजार ३७३ सेवा मतदाता, ९४३ तेस्रो लिङ्गी र ४३ जना एनआरआई मतदाता रहेका छन्।

यसअघि पहिलो चरणअन्तर्गत १२१ सिटमा गत बिहीबार मतदान सम्पन्न भएको थियो। उक्त चरणमा ६४.६६ प्रतिशत मत खसेको थियो, जुन विहारको निर्वाचन इतिहासमै सर्वाधिक मतदान दर हो।

२४३ सदस्यीय बिहार विधानसभा निर्वाचनको अन्तिम परिणाम आगामी नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ। सन् २०२० मा सम्पन्न पछिल्लो निर्वाचनमा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी)ले ७५ सिट, भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट र नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू)ले ४३ सिट जितेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार