बिहार एक्जिट पोल: एनडीएलाई स्पष्ट बहुमतको संकेत, प्रशान्त किशोरको प्रभाव न्यून

२०८२ कार्तिक २५, मंगलवार २०:३३

सर्लाही – भारतको बिहार राज्यमा सम्पन्न विधानसभा निर्वाचनको एक्जिट पोल परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) पुनः सत्तामा फर्किने संकेत देखाएको छ।

१३ वटा छुट्टाछुट्टै एजेन्सीले गरेको सर्वेक्षण अनुसार, एनडीएले औसतमा १५४ सिट जित्ने सम्भावना देखाइएको छ। त्यस्तै, विपक्षी महागठबन्धनले करिब ८४ सिटमा सीमित हुने अनुमान गरिएको छ भने अन्य दलहरूलाई जम्मा ५ सिट मात्र मिल्ने पूर्वानुमान गरिएको छ।

यस चुनावमा पहिलो पटक मैदानमा उत्रिएको प्रशान्त किशोरको जन सुरज पार्टीले उल्लेखनीय प्रभाव पार्न नसकेको देखिएको छ। सर्वेक्षण अनुसार उनको पार्टीले ३ देखि ५ सिट बीच मात्र जित्ने सम्भावना छ।

गत विधानसभा चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्य दलहरूले ८ सिट जितेका थिए। त्यसको तुलनामा यसपटक एनडीएले झण्डै २९ सिट थप्ने अनुमान गरिएको छ भने महागठबन्धनले लगभग त्यति नै सिट गुमाउने सम्भावना देखिएको छ।

२४३ सदस्यीय विधानसभा निर्वाचन दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा १२१ सिटका लागि करिब ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणमा ६७ प्रतिशतको उच्च मतदान दर दर्ता भएको थियो। बिहार निर्वाचनको अन्तिम परिणाम आगामी नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार