सर्लाही – मधेस प्रदेशमा मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
प्रदेशका ७४ जना सांसदहरूले यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले संविधानको धारा १६८ (३) बमोजिम बनेको सरकार गैरकानूनी ठहर गर्दै उक्त निर्णय स्थगन गरी पुनः संवैधानिक प्रक्रिया अघि बढाउन माग गरेका छन्।
यसअघि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। उक्त आदेश रकी प्रसाद साहलगायतले सोमबार दायर गरेको रिटमा जारी गरिएको हो।
सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२)(क) अनुसार जारी गरिएको आदेशमा, विषयवस्तु संवेदनशील र सार्वजनिक महत्वको रहेको भन्दै यस प्रकरणलाई छिटो टुंगो लगाउनुपर्ने उल्लेख छ।
त्यस अनुसार कुनै पनि पक्षले पेशी स्थगित गर्न नपाउने गरी सर्वोच्चले अग्राधिकारका साथ मंसिर ११ गते अन्तिम सुनुवाइका लागि मिति तोकेको छ।







