सर्लाही – भारतको राजधानी नयाँ दिल्लीमा भएको कार विस्फोटलाई भारतीय सरकारले आतंकवादी हमला भएको पुष्टि गरेको छ। सोमबार साँझ ऐतिहासिक लालकिल्ला नजिकैको व्यस्त क्षेत्रमा भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र करिब २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बुधबार साँझ बसेको प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त घटनालाई “राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको कायरतापूर्ण आतंकी गतिविधि” भन्दै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रिपरिषद्ले देशका सुरक्षा निकायलाई अनुसन्धानमा अधिकतम तत्परता र व्यावसायिकता देखाउन निर्देशन दिएको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “भारतले आज फेरि एक जघन्य आतंकी घटनाको सामना गरेको छ। अपराधी, उनीहरूका सहयोगी र प्रायोजकहरूलाई चाँडै पहिचान गरी न्यायको कठघरामा उभ्याइनेछ।” हालसम्म विस्फोटसँग सम्बन्धित कुनै पनि व्यक्ति पक्राउ परेका छैनन् भने कसैको नाम पनि सार्वजनिक गरिएको छैन।
विस्फोट लालकिल्ला नजिकैको मेट्रो स्टेशन वरिपरि भएको बताइएको छ, जुन दिल्लीका अत्यन्त संवेदनशील क्षेत्रमध्ये एक हो। दिल्ली प्रहरी प्रमुख सतीश गोलचाका अनुसार स्थानीय समयअनुसार साँझ ६ः५२ बजे बिस्तारै गुडिरहेको हुन्डाई आइ–२० कार रातो बत्तीमा रोकिएपछि विस्फोट भएको थियो।
विस्फोटको शक्ति यति शक्तिशाली थियो कि वरपर पार्क गरिएका अन्य सवारी साधन र नजिकका भवनहरू समेत क्षतिग्रस्त भएका छन्। प्रहरीले घटनास्थलबाट केही धातुका टुक्रा र जलिसकेको कारका अवशेष सङ्कलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका एक प्रवक्ताले भने, “घटनाको समयमा उक्त कारमा तीन जना सवार थिए, तीमध्ये कसैको अवस्था अझै अज्ञात छ।” सुरक्षा एजेन्सीहरू हाल विस्फोटको पृष्ठभूमि र सम्भावित आतंकवादी सङ्गठनसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेका छन्।







