मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

२०८२ कार्तिक २७, बिहीबार १९:३७

सर्लाही – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि मधेश प्रदेशको वार्षिक आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेशका आठ जिल्लामा स्थलगत तथा गैरस्थलगत सर्वेक्षण र राष्ट्रिय तथ्याङ्क कार्यालयका आकडाका आधारमा तयार गरिएको यस प्रतिवेदनले मधेशको आर्थिक गति र संरचनाको विस्तृत चित्र प्रस्तुत गरेको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशको कुल गार्हस्थ्य उत्पादन (GDP) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। त्यसमध्ये मधेश प्रदेशको हिस्सा करिब ८ खर्ब ४ अर्ब रुपैयाँ रहनेछ। आधारभूत मूल्यमा हेर्दा देशको GDP वृद्धि दर ३.९९ प्रतिशत रहने अनुमान गरिएको छ भने मधेशको वृद्धि दर ३.८८ प्रतिशत रहनेछ।

कृषि नै प्रमुख योगदानकर्ता

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन र मत्स्यपालन क्षेत्रको रहेको छ — जसको हिस्सा ३६.७० प्रतिशत छ।

विपरीतमा, खानी तथा उत्खनन क्षेत्रको योगदान केवल ०.१५ प्रतिशत मात्र देखिएको छ। प्रतिवेदनले मधेश प्रदेशको प्रतिव्यक्ति कुल उत्पादन (GDP per capita) ९३२ अमेरिकी डलर हुने अनुमान गरेको छ।

कृषि उत्पादनमा मिश्रित नतिजा

प्रदेशमा तरकारी र बागवानी खेतीको क्षेत्रफल १०.२७ प्रतिशतले बढेको छ भने खाद्य तथा अन्य बालीमा १.४९ प्रतिशतले वृद्धि भएको छ। तर फलफूल र मसला बालीमा क्रमशः २५.२० र ७.९४ प्रतिशतले क्षेत्रफल घटेको प्रतिवेदनमा उल्लेख छ।

उत्पादनका हिसाबले खाद्य बालीमा १४.०१ प्रतिशत र तरकारीमा ९.७९ प्रतिशत वृद्धि भए पनि फलफूल र मसला बालीमा क्रमशः ९.०७ र १०.५३ प्रतिशतले गिरावट आएको छ।

पशुपालन र वन क्षेत्रतर्फ

पशुजन्य उत्पादनमा दूध ३.१६ प्रतिशत, अण्डा ९.६४ प्रतिशत र माछा उत्पादन ५.९५ प्रतिशतले बढेका छन् भने मासु उत्पादनमा ०.९० प्रतिशतले कमी आएको छ। वनजन्य वस्तुहरूमा काठको उत्पादन २२.५६ प्रतिशतले बढेको छ तर दाउराको उत्पादन १८.१२ प्रतिशतले घटेको देखिएको छ।

वित्तीय क्षेत्रको अवस्था

प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रका लागि ६२ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन कुल कर्जाको १२.७० प्रतिशत हो। औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा गत वर्षभन्दा ५.११ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९ करोड पुगेको छ।

उद्योग वर्गीकरणअनुसार गैर–खाद्यवस्तु उद्योगले ५१.७६ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उद्योगले ३७.३९ प्रतिशत र निर्माण उद्योगले ५.२६ प्रतिशत कर्जा लिएका छन्।

सेवा क्षेत्र र पर्यटन

सेवा क्षेत्रमा होटल व्यवसायमा कार्यरत जनशक्ति २०.४२ प्रतिशतले घटेको छ भने पर्यटक आगमन १८.२५ प्रतिशतले बढेको छ। घरजग्गा रजिष्ट्रेसनमा ३४.१७ प्रतिशत वृद्धि भए पनि त्यसबाट संकलित राजस्व १९.२९ प्रतिशतले घटेको छ।
प्रदेशमा बैंक निक्षेप १६.६८ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब ७३ करोड पुगेको छ भने कुल कर्जा प्रवाह ३.६२ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ८६ करोडमा पुगेको छ।

पूर्वाधार र वैदेशिक रोजगारी

पूर्वाधारका प्रमुख आयोजनामध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई–मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनको क्रममा रहेका छन्।

तीमध्ये हुलाकी सडकको निर्माण कार्य तुलनात्मक रूपमा द्रुत गतिमा अघि बढिरहेको छ। विदेशी रोजगारीका लागि मधेश प्रदेशबाट १ लाख ९३ हजार ९०२ जनाले श्रम स्वीकृति लिएका छन्, जुन देशभरका कुल श्रम स्वीकृतिको २३.१० प्रतिशत हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार