सर्लाही – पर्सा प्रहरीले लागुऔषध गाँजाको अवैध कारोबारमा संलग्न तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यअन्तर्गत बैशाली जिल्ला विदुपुर ग्रामका २३ वर्षीय राजा कुमार, बैशालीकै राजा माइकल पञ्चायतका २३ वर्षीय विशाल कुमार र छपरा जिल्ला सोनपुर निवासी २३ वर्षीय पिन्टु कुमार रहेका छन्।
विशेष सूचनाको आधारमा बुधबार राति करिब १२ बजे पर्सागढी नगरपालिका–९ बडेर्वा पेट्रोल पम्प नजिक सडकखण्डमा प्रहरी चौकी मनवाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ती तीनै जनालाई शंकास्पद रूपमा नेपालबाट भारततर्फ पैदल जाँदै गरेको अवस्थामा रोकेर तलासी लिएको थियो।
तलासीका क्रममा उनीहरूका झोलाबाट क्रमशः तीन किलो एक सय ९० ग्राम, तीन किलो दुई सय ५० ग्राम र तीन किलो तीन सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।







