सर्लाही – भारतको बिहार विधानसभा चुनावको मतगणना आजदेखि सुरु हुँदैछ। नोभेम्बर ६ र ११ मा सम्पन्न दुई चरणको मतदानपछि अहिले सबैको नजर परिणामतर्फ केन्द्रित भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार मतगणना आज बिहान ८ बजेबाट सुरु हुनेछ।
यसअघि सार्वजनिक भएका एक्जिट पोलहरूले राज्यको सत्तारुढ गठबन्धन भारतीय जनता पार्टी नेतृत्वको एनडीए फेरि एक पटक स्पष्ट बहुमततर्फ उन्मुख देखिएको संकेत दिएका छन्।

१३ विभिन्न सर्वेक्षणहरूको औसत अनुसार एनडीएले करिब १५४ सिट जित्न सक्छ भन्ने अनुमान गरिएको छ। त्यही समयमा विपक्षी महागठबन्धनको हातमा ८४ सिटजति सीमित रहने आकलन गरिएको छ। अन्य दलहरूले ५ सिटसम्म प्राप्त गर्ने सम्भावना देखाइएको छ।
पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रशान्त किशोर नेतृत्वको जन सुरज पार्टीले भने अपेक्षित प्रभाव जमाउन नसकेको देखिन्छ। अधिकांश एक्जिट पोलहरूले यस दललाई ३ देखि ५ सिटसम्ममा सीमित देखाएका छन्।
पछिल्ला चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्य दलहरूले ८ सिट जितेका थिए। यो हिसाबले हेर्दा यस पटक एनडीएले झन्डै २९ सिट थप्ने तथा महागठबन्धनले लगभग २८ सिट गुमाउने अनुमान गरिएको छ।
२४३ सिट रहेको बिहारमा दुई चरणमा मतदान भएको थियो। पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत जनमत खसेको थियो भने दोस्रो चरणमा ६७ प्रतिशतको ऐतिहासिक मतदान भएको थियो।





