सर्लाही – जनमत पार्टीबाट अलग्गिएर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले अमान्य ठहर गरेपछि अध्यक्ष दीपक साहले नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया थालेका छन्। उनले शुक्रबार निर्वाचन आयोगमा ‘सर्वोदय पार्टी’ नामक दल दर्ताका लागि औपचारिक निवेदन पेश गरेका हुन्।
बिहीबार मात्रै सर्वोच्च अदालतले निर्वाचन आयोगले जनस्वराज पार्टीलाई दिएको मान्यता रद्द गर्ने फैसला सुनाएको थियो। न्यायाधीश सपनाप्रधान मल्ल, सुनीलकुमार पोखरेल र मेघराज पोखरेल समावेश रहेको इजलासले आयोगको निर्णय बदर गर्दै पार्टीको मान्यता खारेज गरेको हो।

अदालतको निर्णयसँगै जनस्वराज पार्टी अस्तित्वविहीन भएपछि अध्यक्ष साह नेतृत्वको समूहले नयाँ दल गठनतर्फ मोडिएर ‘सर्वोदय पार्टी’ दर्ता प्रक्रियामा प्रवेश गरेको हो। साह जनमत पार्टीका पूर्व उपाध्यक्ष हुन्। पार्टीले आन्तरिक नीतिविपरीत गतिविधि गरेको आरोप लगाउँदै उनलाई साधारण सदस्यताबाट समेत निष्कासन गरेको थियो।





