सर्लाही – भारतको जम्मु-कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार राति भएको शक्तिशाली विस्फोटमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। राति ११:२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन्, जसमा पाँच जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अनुसन्धानमा दिल्लीको लालकिल्ला अगाडि केही दिनअघि भएको कार बममा प्रयोग गरिएको अमोनियम नाइट्रेटकै प्रयोग भएको पुष्टि भएको छ। विस्फोटको तीव्रता यति उच्च थियो कि धेरै शवको पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। आसपासका कारहरूमा समेत आगलागी भएको थियो।

यसअघि पक्राउ परेका डा. मुजम्मिल गनाईको जानकारीका आधारमा फरिदाबादस्थित भाडाको घरबाट करिब ३६० किलोग्राम तथा कुल २ हजार ९०० किलोग्राम अमोनियम नाइट्रेट हुनसक्ने विस्फोटक बरामद गरिएको थियो, जसले घटनाबीच सम्भावित सम्बन्धको आशंका थप बलियो बनाएको छ।





