सर्लाहीमा उखु किसानको धर्ना स्थगित, उद्योगपतिसँग वार्ता हुँदै

२०८२ कार्तिक ३०, आईतवार ०८:२६

मलंगवा – सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट १२ वर्षअघिदेखि बक्यौता उखु मूल्य नपाएका किसानहरूले सुरु गरेको धर्ना स्थगित गरेका छन्। उखु बिक्री रकम माग गर्दै किसानहरूले आइतबारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दीसहित धर्ना गर्दै आएका थिए।

किसान अगुवा राम आधार राय यादवका अनुसार स्थानीय प्रशासनले उद्योगपतिसँग छलफल गराई बक्यौता भुक्तानी दिलाउने प्रतिवद्धता जनाएपछि तत्कालका लागि धर्ना रोकिएको हो।

किसानहरूका अनुसार २०७१/०७२ को क्रसिङ सिजनदेखि बेचिएको उखुको पैसा उद्योगले आजसम्म बुझाएको छैन। उद्योगले बारम्बार आश्वासन दिए पनि करिब नौ करोड ७० लाख रुपैयाँ बराबरको रकम बक्यौता रहेको उनीहरूको दाबी छ। लामो समयदेखि उद्योगको ढिलासुस्तीले किसानहरू आर्थिक रूपमा मारमा परेका छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो उद्योगपति शैलेन्द्र गुप्तालाई बोलाई किसान प्रतिनिधिसँग प्रत्यक्ष वार्ता गराउने तयारी गरेको छ। बक्यौता समस्या समाधानका लागि यो वार्ता निर्णायक हुने किसानहरूको अपेक्षा छ।

उता, उद्योगको बक्यौता कसले भुक्तानी गर्ने भन्ने विषयमा पुराना मालिक राकेश अग्रवाल र हालका मालिक शैलेन्द्र गुप्ताबीच कानुनी विवाद चलिरहेकाे छ। यो मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधीन छ, जसका कारण भुक्तानी प्रक्रिया झनै लम्बिएको बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार