उखुको खरिद मूल्य तोक्ने सरकारको तयारी

२०८२ कार्तिक ३०, आईतवार ०८:४६
file image

सर्लाही – यस वर्षका लागि उखुको नयाँ खरिद मूल्य तोक्न सरकारले तयारी अघि बढाएको छ। मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रौतहटसहित आठ जिल्लामा स्थलगत सर्वेक्षण कार्य सुरु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार उखु उत्पादनमा लाग्ने प्रतिहेक्टर लागत, कृषकको वास्तविक खर्च, र उत्पादनवृद्धिका लागि आवश्यक सूचनाहरू संकलन गर्न विशेष टोली परिचालन गरिएको छ।

टोलीले संकलन गर्ने तथ्यांकका आधारमा प्रतिक्विन्टल उखु उत्पादन खर्च, नाफा जोडेर तयार पारिने मूल्य तथा मिलसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्च समेटेर अन्तिम खरिद मूल्य तय गरिने छ।

उद्योगहरूले सरकारले तय गरेको मूल्य अनुसार नै किसानसँग उखु खरिद गर्नुपर्ने प्रावधान भए पनि मूल्य निर्धारण प्रक्रिया कृषि विभाग, उद्योग मन्त्रालय र अन्त्यमा अर्थ मन्त्रालयको सहमतिसँगै निष्कर्षमा पुग्ने जोशीको भनाइ छ।

किसानलाई अनुदान उपलब्ध गराउने कार्य पनि उत्पादनका आधारमै हुने बताउदै, पैसा सिधै किसानको बैंक खातामा पठाइने व्यवस्था कायम छ। गत वर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिएकोमा देशभर दुई करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

हाल करिब ३० लाख हेक्टर क्षेत्रमा उखुखेती भइरहेको छ भने देशभर करिब ६५ हजार किसान यसमा संलग्न छन्। अनुदान वितरणमा बिचौलियाको पहुँच हटाउँदै वास्तविक कृषकलाई लाभ दिने उद्देश्यले स्थानीय तहमार्फत उखु किसान दर्ता प्रणाली कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार