सर्लाहीमा खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय पक्राउ

२०८२ कार्तिक ३०, आईतवार २०:५६

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३:३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्लास्थित सोनवर्षा थानाअन्तर्गत कोबरवा गाउँका २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोल निवासी १९ वर्षीय फरहान राजा रहेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाइएका झण्डै १२ ग्राम बराबरका लागुऔषधजन्य पदार्थ बरामद गरिएको हो।

साथै उनीहरूको साथबाट एक पोकामा राखिएको सामग्री र रियलमी ब्रान्डका दुई मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दुवैलाई आज सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार