मधेशमा मुख्यमन्त्रीको कार्यालय तोडफोड र कर्मचारीमाथि कुटपिट गर्ने दुई पूर्वसांसद पक्राउ

२०८२ मंसिर २, मंगलवार १८:०१

सर्लाही – मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालयमा भएको तोडफोड तथा कर्मचारीमाथि कुटपिट घटनामा संलग्न आरोपमा दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पूर्वसांसद परमेश्वर साह र प्रदेशसभा सांसद जिबेन्द्र झा रहेका छन्। नयाँ मुख्यमन्त्री नियुक्त भएपछि उत्पन्न विवादका क्रममा उनीहरूले प्रत्यक्ष संलग्न भई कार्यालय तोडफोड र कर्मचारीमाथि हातपातसम्म गरेका थिए।

प्रदेश प्रमुखको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने तयारी भइरहेका बेला कांग्रेससहितका केही दलका सांसद तथा कार्यकर्ताले कार्यालयमा तोडफोड, कर्मचारीमाथि कुटपिट र राष्ट्रिय झण्डासमेत फाल्ने जस्ता गतिविधि गरेका थिए।

यस घटनापछि नेपाल निजामती कर्मचारी युनियनले कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेको थियो।

सोही अनुरोधको आधारमा प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई कारबाही अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि प्रहरीले अदालतबाट आइतबार पक्राउ पुर्जी लिई आज बिहान ती दुई नेताहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएकाे छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार