सर्लाही – बाराको सिमरामा जेनजी समूहका युवामाथि कुटपिट गरेको आरोपमा दुई वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। दुबैजना नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।
बुधबार सिमरा क्षेत्रमा भएको विवादमा शारीरिक झडपमा परिणत भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। जेनजी युवा अभियानका अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनामाथि किटानी जाहेरी दिएका थिए।

प्रहरीले अन्य चार जना अभियुक्तलाई पक्राउ नगरेको भन्दै जेनजी युवाहरू आक्रोशित बनेका छन्। उनीहरूले आज बिहान १० बजेदेखि सिमरा चोकमा टायर बाल्दै प्रदर्शन थालेका छन्, जसका कारण यातायात अवरुद्ध भएको छ भने बिद्यालयहरु समेत बन्द छन्।
यसअघि, बुधबार बाराको परवानीपुरमा एमालेद्वारा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलालाई लक्षित गर्दै जेनजी समूहले कार्यक्रम अवरुद्ध गर्ने उद्देश्यले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण विरोधको आह्वान गरेको थियो। सो भेलामा पार्टी उपाध्यक्ष शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सहभागी हुने तय थियो।
विरोधको क्रममा बुधबार बिहान चोक क्षेत्रमै तनावग्रस्त बनेको थियो। एमाले समर्थकहरूले उपाध्यायमाथि हातपात गरेपछि स्थिति झन् बिग्रिएको थियो। आक्रोशित युवाहरूले नेता कार्यकर्ताहरूलाई पछ्याउँदै सिमरा विमानस्थलसम्म पुगेपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो।
जेनजी युवाहरूले विमानस्थलको मुख्य गेट ढालेका थिए भने भित्रबाट ढुंगा र सिसाका बोतल प्रहार गर्दै लगातार नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्नु परेको थियो।





