सर्लाही – सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । परम्परा अनुसार भगवान् राम र लक्ष्मणको स्वरूपमा सिँगारिएका व्यक्तिहरूलाई पुष्पबाटिकामा घुमाइन्छ, जहाँ त्रेता युगमा राम र जानकीको पहिलो भेट भएको विश्वास गरिन्छ।
आज साँझ जानकी मन्दिर नजिकस्थित विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणको दर्शन गराइने कार्यक्रम तय गरिएको छ। यस अवसरमा राम, लक्ष्मण र जानकीका रूपमा सजिएका बालबालिकालाई पनि फूलबारी घुमाउने चलन रहेको छ।

जनकपुरधामस्थित जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका राम र लक्ष्मण फूलबारी घुम्न पुगेका बेला रामले पहिलोपटक सीतालाई अवलोकन गरेका थिए। त्यही क्षणबाट एक अर्काप्रतिको आकर्षण सुरु भएको र जानकीले राम जस्तै वर पाउँ भन्ने कामना गरेको उल्लेख गरिन्छ।
बिहीबार महोत्सवको पहिलो दिन राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो । त्रेता युगमा सम्पन्न मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको दिव्य विवाहको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी पर्व मनाइन्छ ।
यस वर्षको महोत्सव मंसिर ११ गतेसम्म चल्नेछ। भोलि शनिबार धनुष यज्ञ, मंसिर ७ गते तिलकोत्सव, मंसिर ८ गते राम–जानकी मटकोर र मंसिर ९ गते मुख्य विवाहपञ्चमी कार्यक्रम हुनेछ । मंसिर १० गते रामकलेवा गरी विधिवत रूपमा महोत्सव सम्पन्न गरिने जनाइएको छ।





