ओलीको हुकुमी शासनले देश बर्बाद भयो – माधव नेपाल

२०८२ मंसिर ६, शनिबार २०:०६
file image

सर्लाही – पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीको शासन शैलीलाई ‘हुकुमी र तानाशाही’ भन्दै आलोचना गरेका छन्।

आफ्नै गृह जिल्ला रौतहटको गरुडास्थित गोपाल धर्मशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले ओलीको एकल निर्णय र आदेशमुखी शासकीय प्रवृत्तिका कारण देश संकटतर्फ धकेलिएको दाबी गरे।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेता नेपालले कार्यकर्तामाथि ‘उठ, बस’ शैलीमा नियन्त्रण गर्ने रवैया अपनाइने गरेको आरोप लगाउँदै, यस्तै प्रवृत्तिले राजनीतिक संस्कृति कमजोर हुँदै गएको बताए। उनले भने, “हुकुमी शासनले देशलाई धेरै क्षति पुर्‍यायो।”

जेनजी आन्दोलनबारे कुरा गर्दै उनले यसको मूल मुद्दा, भ्रष्टाचार विरुद्धको संघर्ष, सुशासन र विकासको माग, आफ्नै पार्टीले उठाउँदै आएका मागसँग मेल खाने भए पनि समयमै अघि सार्न नसकिएको स्वीकारोक्ति गरे।

मागलाई सार्वजनिक रूपमा उठान गरेकोमा उनले जेनजीलाई धन्यवादसमेत दिए। नेता नेपालले जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन हुन आफू र आफ्नो पार्टी सक्रिय रूपमा लागिपरेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार