अज्ञात समूहद्वारा सर्लाहीमा काटेर थुपारिएको धानमा आगजनी

२०८२ मंसिर १०, बुधबार १८:५६
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका – ९ मुर्तियामा एक किसानको खेतमा काटेर थुपारिएको धानमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार राति अज्ञात समूहद्वारा गरिएको आगजनीमा किसान रामबाबु महतोले भित्र्याउन ठिक्क पारेको १० कठ्ठा धान पूर्ण रूपमा नष्ट भएको छ।

मंगलबार थ्रेसर लगाउने तयारीमा रहेका किसानले खेतबाट काटिएको धान एकै ठाउँमा थुपारेका थिए। तर रातिको समयमा अज्ञात समूहले आगो लगाइदिएपछि धान जलेर खरानी भएको पीडित किसान महतोले बताए।

उनका अनुसार धान रोपिएको उक्त १० कठ्ठा जमिन अरुको हो, जुन उनले वार्षिक ४५ हजार रुपैयाँमा ठेक्कामा लिएर खेती गरेका थिए। धान खेतबाट नसकिँदै यस्तो घटना हुँदा आफू आर्थिक रूपमा अत्यन्तै संकटमा परेको उनले बताए।

पिडित किसानले दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धान नष्ट भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार