सर्लाही – धनुषाको कमला नगरपालिकाका पूर्व मेयर राम उद्गार गोइतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणको ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर गोइतसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल सञ्जीव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव र कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन तथा इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आर्थिक वर्ष २०७६/७७ मा कमला नगरपालिका – ३ स्थित लग्मा बजार नजिकको पोखरी सौन्दर्यकरण योजनाका लागि आह्वान गरिएको बोलपत्रमा सेट स्क्वायर कन्स्ट्रक्सन प्रालि ले सबैभन्दा कम ४२ लाख ७४ हजार ५५१ रुपैयाँ कबोल गरे पनि नगरपालिकाका पदाधिकारी र कर्मचारीको मिलेमतोमा उक्त कम्पनीले पेस गरेका दस्तावेजहरू (सम्झौता निवेदन र बैंक ग्यारेन्टीसहित) लुकाएर नष्ट गरिएको पाइएको छ।
न्यून रकम कबोल गर्ने कम्पनीलाई कालोसूचीमा नराखी केवल बिड बोन्ड मात्र जफत गरी दोस्रो उच्च रकम कबोल गर्ने इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि सँग ७२ लाख २१ हजार ७३० रुपैयाँमा सम्झौता गरिएको खुल्न आएको हो। यसरी कम कबोल गर्नेलाई हटाएर बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा नगरपालिकालाई करिब २९ लाख ४४ हजार १३७ रुपैयाँ नोक्सान भएको अख्तियारको ठहर छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको ठहर गर्दै प्रत्येक प्रतिवादीलाई सोही बराबरको बिगो कायम गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ। साथै तत्कालीन मेयर राम उद्गार गोइतलाई सो ऐनको दफा २४ अनुसार थप सजायसमेत मागदाबी गरिएको आयोगका प्रवक्ताले जानकारी दिएका छन्।





