मधेश प्रदेशमा वनमन्त्री बनेकी कञ्चन विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

२०८२ मंसिर ११, बिहीबार २०:४९

सर्लाही – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन विपरीत कार्य गरेको आरोपमा मधेश प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई छ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ।

बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अनुशासन समितिको सिफारिसअनुसार उनलाई कारबाही गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनको गतिविधि पार्टीको आदेश विपरीत रहेको ठहर गरी मधेश प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णयसमेत गरिएको छ। ८ मंसिरमा मुख्यमन्त्री सरोजकुमार यादवले विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए।

उनको नियुक्तिसँगै प्रदेश मन्त्रिपरिषद् पुनर्गठन हुँदै अन्य दुई व्यक्तिले पनि मन्त्रालय पाएका थिए। यादवले नेकपा एमालेका लखन दासलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

उनीहरूलाई २४ कात्तिकमा विना विभागीय मन्त्री बनाइएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार