मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ

२०८२ मंसिर १२, शुक्रबार ०९:२३

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध दायर गरिएको रिटमा आज शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दामा सुनुवाइ हुँदै आएको छ। विहीबार पनि बहस नसकिएपछि “हेर्दाहेर्दैमा” राखिएको यो मुद्दा आज पुनः सुनुवाइ हुँदै छ ।

यसअघि नेपाली कांग्रेस मधेश प्रदेश सभा संसदीय दलका नेता कृष्ण प्रसाद यादवसहित ७४ जना सांसदले मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

त्यसअघि, अर्को रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने प्रकृतिका कुनै निर्णय नगर्न आदेश दिएको थियो।

प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न नसक्ने अवस्था देखिएपछि संविधानको धारा १६८(२) अनुसार नियुक्त लोसपा नेता जितेन्द्र सोनलले कात्तिक २२ गते राजीनामा घोषणा गरेका थिए।

त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। बिरामी भएको बहानामा काठमाडौं जान लागेका मुख्यमन्त्रीलाई महोत्तरीस्थित बर्दिबासको पानस होटलमा शपथ गराइएको घटनाले व्यापक विवाद सिर्जना गरेको थियो।

त्यसपछि आलोचना चुलिँदै गएपछि सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेको थियो। हाल नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्ण नियुक्त भइसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार