मुस्लिम समुदायप्रति दिएको अभिव्यक्ति बारे प्रधानमन्त्री कार्कीको प्रष्टीकरण

२०८२ मंसिर १४, आईतवार १०:२६

सर्लाही – प्रधानमन्त्री सुशिला कार्कीले आफूले हालै दिएको अभिव्यक्तिले कुनै धर्म वा समुदायलाई लक्षित नगरेको स्पष्ट पारेकी छन्। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गर्ने कार्यक्रममा व्यक्त गरेको भनाइलाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफ्नो भनाइको आशय गलत रूपमा लिइएको बताएकी हुन्।

आइतबार बिहान सार्वजनिक गरिएको सन्देशमा प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले व्यक्त गरेको अभिव्यक्ति सम्बन्धमा विभिन्न टिप्पणी आएको रहेछ। मेरो कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य वा नियत थिएन। सबै धर्मप्रति म समान सम्मान राख्छु। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा अनुरोध गर्दछु।”

गत मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा मुस्लिम समुदायसँग सम्बन्धित उनको भनाइ सार्वजनिक भएपछि सो अभिव्यक्ति विवादित बनेको थियो। कार्यक्रममा उनले मुस्लिम संस्कृतिसँग जोडिएका केही व्यवहार र प्रवृत्तिलाई उदाहरणस्वरूप प्रस्तुत गरेकी थिइन्, जुन अभिव्यक्ति पछि विभिन्न पक्षबाट आपत्ति जनाइएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार