थपियो मतदानस्थल, अब १० हजार ९६७

२०८२ मंसिर १४, आईतवार १७:४२

सर्लाही – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको पुनरावलोकन गरेको छ।

मतदाताको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले गरिएको समीक्षापछि आयोगले १६८ नयाँ मतदानस्थल थप गरेको छ, भने प्रयोगयोग्य नभएका ९३ स्थान हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेकोमा अब समग्रमा ७५ स्थलबढ्दै कुल १० हजार ९६७ मतदानस्थल कायम भएका छन्।

आयोगका अनुसार पुनरावलोकन प्रक्रियामा मतदानस्थलका नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई अझ पायक पर्ने ठाउँमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गर्ने तथा आवश्यक परेमा छेउको अर्को मतदानस्थलमा समायोजन गर्ने कामसमेत गरिएको छ।

केही मतदानस्थल जीर्ण अवस्थामा रहेकाले वा लामो समयदेखि प्रयोगमा नरहेकाले खारेज गरिएको आयोगले स्पष्ट पाएको छ। निर्वाचन आयोगले मतदाताले मतदान गर्न सजिलै पहुँच पाओस् र निर्वाचन प्रक्रिया थप सुव्यवस्थित बनोस् भन्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार