सर्लाही – सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई आगामी २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ। ७३ जना सांसदहरूले यादवको नियुक्ति संविधानविपरीत भएको आरोपसहित सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
अब अदालतको निर्देशनअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ। यदि उनले सभाबाट आवश्यक समर्थन प्राप्त गरे भने उनी पदमा कायम रहनेछन्।

विश्वासको मत पाउन असफल भएमा भने नयाँ विकल्पको प्रक्रिया अघि बढाउन अदालतले स्पष्ट निर्देश दिएको छ। यस्तै, आदेशमा उल्लेख गरिएअनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८(२) को आधारमा संयुक्त सरकार गठन गर्ने प्रक्रियामा अघि बढ्नु पर्नेछ।





