सर्लाही – वीरगन्जमा प्रहरीले लागूऔषधसहित एक पुरुषलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका – ५ निवासी ४८ वर्षीय सम्सुल मियाँ रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान वीरगन्ज महानगरपालिका – १५, प्रतिमा चौक नजिकै पैदल हिँडिरहेका मियाँलाई शंकास्पद देखिएपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो।
जाँचका क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट करिब १० केजी चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए। चरेससहित पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा हिरासतमा राखी लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







