सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा कार्यरत रहेकाहरूले सार्वजनिक रकम दुरुपयोग गरेको ठहर गर्दै सात जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक पाँचौं स्तरका कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्र विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
यसैगरी, सरिता फाउण्डेसन काठमाडौं र सो संस्थाकी निर्देशक सरिता कुमारी साह विरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरू सबैसँग प्रति व्यक्ति ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको विगो असुल गर्न माग गरिएको छ।
उनीहरूले आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाले बजेट स्वीकृत नगरेको अवस्था हुँदाहुँदै पनि सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरी उजागर भएको थियो।
अख्तियारको अनुसन्धानले सो रकम अनियमित ढङ्गले भुक्तानी लिई–दिई कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ सरकारी कोषमा क्षति पुर्याइएको ठहर गरेपछि सोही आधारमा आरोपपत्र दायर गरिएको हो।







