मलंगवा – पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ। लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो।
कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ ६,०२७ वटा रुख काटिने छन्। सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिने छ। सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ।

सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ। मन्त्रीपरिषबाटै निर्णय आवश्यक हुने भएकाले अनुमति प्रक्रिया लामो भएको र त्यसका कारण सडक विस्तारको काम महिनौँसम्म ढिलो भएको आयोजना स्रोतले जनाएको छ।
अब आदेश प्राप्त भएपछि ठेकेदारमार्फत रुख हटाउने कार्य अघि बढाइएको छ। काटिएका रुख ठेकेदारले सुरक्षित रूपमा राखी सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउनेछ, र त्यसपछि वन कार्यालयले लिलामी प्रक्रिया अघि बढाउनेछ।
रुख कटाउने अनुमति मिले पनि प्रमुख चुनौती भनेको बिजुलीका पोल हटाउने र खानेपानी पाइप स्थानान्तरण गर्ने कार्य भएको आयोजनाका प्रमुख राजेश कुमार दासले बताए। पोल र पाइप नहट्दा कतिपय स्थानमा रुख काट्ने र सडक विस्तार गर्ने काम अवरुद्ध भइरहेको छ।
कमला पुलदेखि पथलैयासम्मको करिब १३० किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ। पूर्वी खण्ड (सर्लाही, महोत्तरी, धनुषा) र पश्चिमी खण्ड (रौतहट, बारा) छुट्टाछुट्टै कार्यालयमार्फत सञ्चालन हुँदैछ।
दुई लेनको राजमार्गलाई बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यस परियोजनाका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ।





